अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्रमा मंसिर १३ गते स्वर्णप्राशन कार्यक्रम हुने

२०८३ मङ्सिर ११ बिहीबार १७:५८:०० मा प्रकाशित

सन्धिखर्क । अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्र सन्धिखर्कले बालबालिकाको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले स्वर्णप्राशन कार्यक्रम सञ्चालन गर्ने भएको छ।

१ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई लक्षित गरी आगामी २०८३ मंसिर १३ गते आइतबार कार्यक्रम सञ्चालन गर्न लागिएको स्वास्थ्य केन्द्रले जनाएको छ। बिहान ६ बजेदेखि १० बजेसम्म सञ्चालन हुने कार्यक्रममा बालबालिकालाई स्वर्णप्राशन सेवा प्रदान गरिनेछ।आयुर्वेदिक मान्यताअनुसार स्वर्णप्राशनलाई बालबालिकाको स्मरणशक्ति, एकाग्रता, शारीरिक तथा मानसिक विकास र पाचन क्षमतासँग जोडेर हेर्ने गरिन्छ।स्वास्थ्य केन्द्र प्रमुख कमलप्रसाद आचार्यले ज्वरो आएको, खाना पच्न नसकेको, रुघाखोकी लागेको तथा आउँ (डायरिया/पखाला) भएको अवस्थामा स्वर्णप्राशन नगराउन आग्रह गर्नुभएको छ। स्वर्णप्राशन गराउन आउँदा बालबालिकालाई खाली पेटमा ल्याउनसमेत उहाँले अनुरोध गर्नुभएको छ।

कार्यक्रम अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्र, सन्धिखर्कमा सञ्चालन हुनेछ। स्वास्थ्य केन्द्रले ‘स्वस्थ बालक, उज्ज्वल भविष्य’ भन्ने सन्देशसहित अभिभावकलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ।