फोक्सोको क्यान्सरबाट पीडित मायादेवी पौडेलको उपचारका लागि आर्थिक सहयोगको अपिल
अर्घाखाँचीकी मायादेवी पौडेललाई उपचार खर्च जुटाउन कठिन, सहयोगका लागि परिवारको अपिल
अर्घाखाँचीको मालारानी गाउँपालिका–४ निवासी तथा हाल सन्धिखर्क नगरपालिका–१ मिडिया चोकमा बस्दै आएकी मायादेवी पौडेल आचार्य फोक्सोको क्यान्सरबाट पीडित भएपछि उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको छ।
दुई साना बालककी आमा पौडेल विगत एक वर्षदेखि उपचाररत रहेको बताइएको छ। स्थानीय अस्पतालदेखि काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र बीपी स्मृति अस्पतालसम्म उपचार गराउँदा पनि रोग पहिचान हुन नसकेपछि उनलाई थप उपचारका लागि भारतको दिल्लीस्थित सर गंगाराम अस्पतालमा लगिएको थियो।
परिवारका अनुसार उक्त अस्पतालमा छ महिनासम्म उपचार गरेपछि रोग पहिचान भएको हो। अहिले उनलाई निरन्तर औषधि सेवन गर्नुपर्ने अवस्था रहेको जनाइएको छ।
पौडेलको उपचारमा प्रयोग हुने औषधिका लागि मासिक ६ लाख ८८ हजार रुपैयाँ खर्च लाग्ने बताइएको छ। यति ठूलो रकम जुटाउन परिवारको आर्थिक अवस्थाले धान्न नसक्ने भएपछि उनको जीवनरक्षाका लागि सहयोगको अपिल गरिएको हो।
आर्थिक अभावका कारण उपचारमा समस्या हुन नदिन देश तथा विदेशमा रहेका नेपाली, समाजसेवी, संघसंस्था र सहयोगी मनहरूलाई आफ्नो क्षमताअनुसार आर्थिक सहयोग गरिदिन परिवारले अनुरोध गरेको छ।
सहयोग गर्न इच्छुक व्यक्तिहरूलाई उपलब्ध गराइएको क्यूआर कोडमार्फत सहयोग रकम पठाउन अनुरोध गरिएको छ। साथै, सहयोगको यो अपिललाई सामाजिक सञ्जालमार्फत सेयर गरी धेरैभन्दा धेरै व्यक्तिसम्म पुर्याइदिनसमेत आग्रह गरिएको छ।
“सबैको सानो सहयोगले पनि कसैको जीवन बचाउन र दुई बालबालिकाको भविष्य सुरक्षित गर्न ठूलो भूमिका खेल्न सक्छ।”