सन्धिखर्कमा ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

२०८३ मङ्सिर ४ बिहीबार १८:३८:०० मा प्रकाशित

अर्घाखाँची । 
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ स्यालेमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
बुधबार (२०८३ मंसिर ३ गते) साँझ करिब ४ः५५ बजे सन्धिखर्क–गोरुसिंगे सडकखण्डमा दुर्घटना भएको हो।
प्रहरीका अनुसार फुडवाङबाट सन्धिखर्कतर्फ आउँदै गरेको रा १ त ५०३९ नम्बरको ट्याक्टरको पछाडिबाट सोही दिशातर्फ आउँदै गरेको लु ६४ प ९८६३ नम्बरको मोटरसाइकल ठोक्किएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक सन्धिखर्क नगरपालिका–७ गच्छेका ४८ वर्षीय मुकुन्द चुदाली गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क पुर्‍याइएकोमा साँझ ५ः१५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
ट्याक्टर चालक सन्धिखर्क नगरपालिका–७ का २७ वर्षीय कपिल पोख्रेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनामा संलग्न दुवै सवारीसाधन पनि प्रहरीको नियन्त्रणमा रहेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।h