अर्घाखाँचीका शाखा सडकमा नयाँ भाडादर सिफारिस, पक्की सडकमा प्रतिकिलोमिटर ८ रुपैयाँ ७५ पैसा

२०८३ मङ्सिर ९ मंगलबार १३:४३:०० मा प्रकाशित

अर्घाखाँचीका ग्रामीण तथा शाखा सडकमा सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडादर निर्धारण गर्न जिल्ला समन्वय समितिले प्रदेश सरकारसमक्ष सिफारिस गरेको छ।

जिल्लाका शाखा सडकमा सञ्चालन हुने साना तथा ठूला सवारी साधनका लागि सडकको अवस्थाअनुसार प्रतिकिलोमिटर भाडादर निर्धारण गर्न सिफारिस गरिएको जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले जानकारी दिनुभयो।

सिफारिसअनुसार साना सवारी (जिप) का लागि पक्की सडकमा प्रतिकिलोमिटर ८ रुपैयाँ ७५ पैसा, ग्राभेल सडकमा ११ रुपैयाँ ७५ पैसा र कच्ची सडकमा १२ रुपैयाँ ७५ पैसा भाडादर प्रस्ताव गरिएको छ।

त्यस्तै, ठूला सवारी साधनका लागि पक्की सडकमा प्रतिकिलोमिटर ८ रुपैयाँ २५ पैसा, ग्राभेल सडकमा ११ रुपैयाँ २५ पैसा र कच्ची सडकमा १२ रुपैयाँ २५ पैसा भाडादर निर्धारण गर्न सिफारिस गरिएको छ।

पछिल्लो समय अर्घाखाँची जिल्लाका विभिन्न ग्रामीण सडकहरू कालोपत्रे भइसके पनि स्थानीयवासीले कच्ची सडककै दरअनुसार भाडा तिर्नुपर्ने अवस्था रहेको छ। सडकको अवस्था परिवर्तन भए पनि भाडादरमा समयानुकूल समायोजन हुन नसक्दा यात्रुहरू मारमा पर्दै आएका छन्। नयाँ भाडादर लागू भएमा सडकको अवस्थाअनुसार भाडा तिर्नुपर्ने र यात्रुलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।

तर राष्ट्रिय राजमार्गअन्तर्गत सन्धिखर्क–गोरुसिङ्गे–बुटवल सडकखण्ड र सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डमा भने यातायात व्यवस्था विभागले निर्धारण गरेको भाडादर नै कायम हुने जनाइएको छ।

प्रदेश सरकारले सिफारिसअनुसार भाडादर स्वीकृत गरेपछि जिल्लाका शाखा सडकमा नयाँ भाडादर लागू हुने अपेक्षा गरिएको छ।