मौलिक कला र संस्कृतिले गुञ्जायमान बन्यो काठमाडौंको गौशाला, खेली नृत्यमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पनि छमछमी

२०८३ मङ्सिर ८ सोमबार ०६:५६:०० मा प्रकाशित

काठमाडौं
नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले सुपा देउराली सांस्कृतिक समाजले काठमाडौंको गौशालास्थित युनियन पार्टी प्यालेसमा आयोजना गरेको देउसी–भैलो तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा पूर्वउपप्रधानमन्त्री तथा अर्घाखाँचीका नेता टोपबहादुर रायमाझी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा अर्घाखाँचीको कला र संस्कृतिले छुट्टै पहिचान बनाएको उल्लेख गर्दै उहाँले परम्परागत खेली नृत्यमा सहभागी भई नृत्यसमेत गर्नुभएको थियो। उहाँको नृत्य र सहभागिताले कार्यक्रमको माहोल थप उत्साहपूर्ण बनेको थियो। आफ्नो जन्मभूमिको मौलिक कला र संस्कृतिप्रतिको आत्मीयता प्रस्तुत गर्दै उहाँ खेली नृत्यमा सहभागी हुँदा उपस्थित दर्शकले समेत उत्साहका साथ साथ दिएका थिए।
काठमाडौंमा बसोबास गर्दै आएका अर्घाखाँचीवासीलाई एउटै सांस्कृतिक मञ्चमा जोड्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, कलाकार तथा संस्कृतिप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा गायक तथा सर्जक मोतिराज खनाल, चिरञ्जीवी अर्याल, मीना न्यौपाने, ध्रुव बस्नेत, मुकुन्द भुसाल, कृष्णा शाह, गीता पराजुली, पुष्पा शाह, किरण पन्थी, छविलाल बेलबासे, कृष्ण भुसाल, सविता अधिकारी, कल्पना अधिकारी, अनिल भुसाल, नरहरि घिमिरे, आशा अधिकारी, अम्बिका पौडेल, प्रकाश बस्नेतलगायत कलाकारहरूले गायन तथा नृत्यमार्फत दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए।
नेपाली मौलिकता र परम्परा झल्काउने देउसी–भैलो, सोरठी नाच, खेली नृत्य तथा बाँसुरीको धुनमा प्रस्तुत गरिएका सांस्कृतिक प्रस्तुतिले कार्यक्रमस्थललाई उत्सवमय बनाएको थियो। विशेषगरी कलाकार प्रकाश बस्नेतको बाँसुरीको धुनमा प्रस्तुत परम्परागत नृत्यले दर्शकको ध्यान आकर्षित गरेको थियो। कलाकारहरूको प्रस्तुति र दर्शकको उत्साहपूर्ण सहभागिताले गौशाला क्षेत्र नेपाली लोकसंस्कृतिको रौनकले गुञ्जायमान बनेको थियो।
कार्यक्रममा भोजबहादुर शाह, लक्ष्मण रायमाझी, ऋषि भुसाल, विशाल मिश्र, सविन खड्का, पवित्रा रिजाल, तारापति पोखरेल, शंकर न्यौपाने, खिमानन्द घिमिरे, डासुराम घिमिरे, लक्ष्मी घिमिरे, केवल ज्ञवाली, कल्पना अधिकारी, धनेन्द्र बस्नेतलगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। यस्तै युनियन पार्टी प्यालेसका सञ्चालक हरिबहादुर रायमाझी, गिरीश पन्थी, भानु खनाल, बलराम रायमाझी र बाबुराम रायमाझीलगायतले आतिथ्यता प्रदान गर्नुभएको थियो।
समाजका विशिष्ट व्यक्तित्व सुभाष ज्ञवालीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। उहाँको सहज, रोचक र व्यवस्थित सञ्चालनले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
काठमाडौंमा रहेर पनि आफ्नो जन्मभूमि अर्घाखाँचीको कला, संस्कृति, परम्परा र पहिचानलाई जीवन्त राख्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमले जिल्लावासीबीच आपसी सद्भाव, भाइचारा र सामाजिक एकतालाई थप बलियो बनाएको आयोजकको विश्वास छ।
कार्यक्रमको सफलताका लागि आर्थिक, नैतिक तथा विभिन्न माध्यमबाट सहयोग, साथ र समर्थन प्रदान गर्ने सम्पूर्ण व्यक्ति, संघसंस्था तथा शुभेच्छुकप्रति गायक एवं सर्जक मोतिराज खनालले धन्यवाद तथा आभार व्यक्त गर्नुभएको थियो। उहाँले सुपा देउराली सांस्कृतिक समाजको अभियानलाई हौसला प्रदान गर्ने सबैप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनका लागि सबैको निरन्तर साथ र सहयोगको अपेक्षा गर्नुभएको थियो।
सुपा देउराली सांस्कृतिक समाजले मौलिक कला तथा संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तामा नेपाली सांस्कृतिक पहिचान हस्तान्तरण गर्ने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
'संस्कृति हाम्रो पहिचान हो, यसको संरक्षण र प्रवर्द्धन हाम्रो साझा जिम्मेवारी हो' भन्ने सन्देशसहित कार्यक्रम सम्पन्न भएको हो।