सडक कालोपत्रे भए पनि भाडादर पुरानै, यात्रु मारमा

२०८३ कार्तिक २३ आइतबार २१:३८:०० मा प्रकाशित

अर्घाखाँची जिल्लाका ग्रामीण क्षेत्रका अधिकांश सडक कालोपत्रे भइसक्दा पनि यातायातका साधनले भने अझै कच्ची सडकसरहकै भाडा असुल्ने गरेका छन् । सडकको अवस्था सुधारिए पनि भाडादर समायोजन नहुँदा जिल्लाबासी यात्रु मारमा परेका छन् ।

जिल्लाका सन्धिखर्क–बलकोट–तम्घास सडक, सन्धिखर्क–घुम्ती–पाल्पा सडकखण्डअन्तर्गत पोखराथोकसम्म, सन्धिखर्क–डिभर्ना–खन–खनदह–डाँडाकटेरी सडक तथा सन्धिखर्क–असुरकोट–ढाकावाङ सडक कालोपत्रे भइसकेका छन् । तर, सडक कालोपत्रे भए पनि यातायात व्यवसायीले पुरानै भाडादर लिने गरेको यात्रुहरूको गुनासो छ ।

यातायात व्यवस्था विभागले जारी गरेको सूचनाअनुसार पक्की सडकमा बसका लागि प्रतिकिलोमिटर ५ रुपैयाँ तथा हाइस र जिपका लागि ६ देखि ८ रुपैयाँसम्म भाडादर निर्धारण गर्न सकिने उल्लेख छ ।

त्यस्तै, अर्घाखाँचीमा जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले ट्याक्सीका लागि पक्की सडकमा प्रतिकिलोमिटर ५० रुपैयाँ तथा कच्ची र ग्राभेल सडकमा ६५ रुपैयाँ भाडादर कायम गर्ने निर्णय गरेको थियो । तर, उक्त निर्णयसमेत प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन ।

यसको उदाहरणका रूपमा सन्धिखर्कदेखि अल्गाटारीसम्मको करिब ८ किलोमिटर दूरीलाई लिन सकिन्छ । जिल्ला प्रशासनको निर्णयअनुसार पक्की सडकमा ट्याक्सी रिजर्भ गर्दा ४०० रुपैयाँ भाडा हुनुपर्ने देखिन्छ । तर, व्यवहारमा उक्त दर लागू भएको छैन ।

त्यस्तै, यातायात व्यवस्था विभागले उल्लेख गरेको प्रतिकिलोमिटरको दरअनुसार ८ किलोमिटर दूरीमा बसको भाडा ४० रुपैयाँ र जिप तथा हाइसको भाडा ४८ देखि ६४ रुपैयाँसम्म हुनुपर्ने देखिन्छ । तर, जिल्लामा उक्त दरअनुसार भाडा कायम भएको छैन ।

सडकको अवस्था परिवर्तन भइसके पनि भाडादर पुरानै कायम रहँदा यात्रुहरू असन्तुष्ट बनेका छन् । जिल्लाका अधिकांश ग्रामीण सडक कालोपत्रे भइसकेको अवस्थामा सडकको वास्तविक अवस्था र सरकारी निर्णयका आधारमा भाडादर पुनरावलोकन तथा समायोजन गर्न जिल्लाबासीले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् ।

सडक कालोपत्रे भएपछि यात्रुले पनि त्यसको लाभ पाउनुपर्ने भन्दै जिल्लामा लागू हुने यातायात भाडादर स्पष्ट गरी प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित निकायसँग माग गरिएको छ ।