करदाता प्रोत्साहन कार्यक्रममा मालारानीका सुबास चौहानलाई एक लाख रुपैयाँ पुरस्कार

२०८३ असोज २९ बिहीबार ११:४५:०० मा प्रकाशित

अर्घाखाँची

नेपाल सरकारले सञ्चालन गरेको करदाता प्रोत्साहन कार्यक्रममा अर्घाखाँचीको मालारानी गाउँपालिका–३ निवासी सुबास चौहानले एक लाख रुपैयाँ पुरस्कार जित्नुभएको छ।

चौहानले अर्घाखाँची आयलमा १ हजार ३ सय ६४ रुपैयाँको इन्धन खरिद गर्नुभएको थियो। इन्धन खरिदका क्रममा भएको कारोबारबाट उहाँ पुरस्कारका लागि छनोट हुनुभएको हो।

पुरस्कार विजेता चौहानले सामान खरिद गर्दा अनिवार्य रूपमा बिल लिन र फोनपे जस्ता डिजिटल भुक्तानीका माध्यम प्रयोग गर्न उपभोक्तालाई सुझाव दिनुभएको छ।

उहाँले बिल लिने र डिजिटल भुक्तानी गर्ने बानीले पारदर्शी कारोबारलाई प्रोत्साहन गर्नुका साथै उपभोक्ताले पनि यस्ता प्रोत्साहन कार्यक्रममा सहभागी हुने अवसर पाउने बताउनुभएको छ।