सन्धिखर्कमा कोदो र फापरको सेलदेखि बटुकसम्म, परम्परागत परिकारको स्वाद
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कको टुँडिखेल अगाडी विगत दुई दशकदेखि रोशन खाजा पसल सञ्चालन गर्दै आउनुभएकी विद्या भाउजूले समयको मागअनुसार कोदो र फापरको सेल बनाउन थाल्नुभएको छ। पछिल्लो समय कोदो र फापरको सेलप्रति ग्राहकको माग बढ्दै गएको उहाँले बताउनुभयो।
उहाँको पसलमा कोदो र फापरको सेलसँगै भटमास, बोडी र मासबाट बनाइने परम्परागत परिकार बटुकसमेत तयार गरिन्छ। स्थानीय स्वाद र मौलिक खानाको पहिचान बोकेका यस्ता परिकारले खाजा पसललाई फरक पहिचान दिएको छ।
पछिल्लो समय कोदो र फापरको सेलको माग बढिरहेको उहाँको भनाइ छ। कोदो खेती घट्दै गएको अवस्थामा आवश्यक पिठो जुटाउन भने केही कठिनाइ हुने गरेको उहाँले बताउनुभयो। त्यसका लागि आफूले साथी सहकारीबाट पिठो ल्याउने गरेको र सहकारीले राम्रो गुणस्तरको पिठो उपलब्ध गराउँदै आएको उहाँले जानकारी दिनुभयो।
परम्परागत अन्न र स्थानीय उत्पादनबाट तयार गरिने कोदो तथा फापरको सेल र भटमास, बोडी तथा मासबाट बनाइने बटुकजस्ता परिकारले मौलिक खानाको स्वाद जोगाउन सहयोग पुर्याएका छन्। यस्ता परिकारको माग बढ्नुले स्थानीय उत्पादनको प्रवर्द्धन र परम्परागत खानाको संरक्षणमा समेत टेवा पुग्ने अपेक्षा गर्न सकिन्छ।