देउराली यातायातले अर्घाखाँची–काठमाडौं रात्री बस र नयाँ दिल्ली सेवा सञ्चालन गर्ने
अर्घाखाँची । अर्घाखाँचीमा लामो समयदेखि यातायात सेवा प्रदान गर्दै आएको देउराली यातायात अर्घाखाँची प्रा.लि.ले अर्घाखाँची–काठमाडौं रात्री बस सेवा तथा अर्घाखाँची–नयाँ दिल्ली दिवा तथा रात्री बस सेवा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुर्याएको कम्पनीका अध्यक्ष गोविन्द बन्जाडेले जानकारी दिनु भयो ।
कम्पनीका अनुसार अत्याधुनिक सुविधासम्पन्न बसहरू तयारी अवस्थामा छन् भने आवश्यक व्यवस्थापकीय कामहरू तीव्र गतिमा भइरहेको छ। आगामी २०८३ साल असोज २५ गते भव्य कार्यक्रमबीच नयाँ सेवाको औपचारिक शुभारम्भ गर्ने तयारी गरिएको छ।
यात्रुलाई सहज, सुरक्षित, आरामदायी र प्रविधिमैत्री सेवा प्रदान गर्ने उद्देश्यले नयाँ बस सेवा सञ्चालन गर्न लागिएको कम्पनीले जनाएको छ। यात्रुको सुविधा, सुरक्षा र समयको अधिकतम उपयोगलाई प्राथमिकतामा राखिएको कम्पनीको भनाइ छ।
अर्घाखाँची सदरमुकाम सन्धिखर्कबाट काठमाडौंका लागि रात्री बस साँझ ४:३० बजे सन्धिखर्क बसपार्कबाट र ४:४५ बजे शान्ति बगैंचाबाट छुट्नेछ। त्यसैगरी काठमाडौंको गंगबु बसपार्कबाट सन्धिखर्कका लागि साँझ ५ बजे बस छुट्ने व्यवस्था गरिएको संस्थाका महासचिव प्रेमप्रकाश पाण्डेले बताउनु भयो ।
काठमाडौंमा हाल लोत्से महलभित्र रहेको टिकट काउन्टरबाट टिकट लिन सकिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।
देउराली यातायातले अर्घाखाँची–नयाँ दिल्ली दिवा तथा रात्री बस सेवासमेत सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ। यस सेवाबाट अर्घाखाँचीसहित आसपासका जिल्लाका यात्रुलाई भारतको राजधानी नयाँ दिल्लीसम्मको यात्रामा थप सहजता हुने अपेक्षा गरिएको देउराली यातायात प्रालिका सचिव तथा प्रवक्ता बलराम भुसालले बताउनु भयो ।