दशैँलाई लक्षित गर्दै मालारानीमा सामूहिक रूपमा खसीबोका बिक्री

२०८३ असोज २३ शुक्रबार १०:१०:०० मा प्रकाशित

अर्घाखाँचीको मालारानी गाउँपालिकाका कृषकहरू खसीबोका उत्पादनसँगै सामूहिक बजारीकरणमा आकर्षित हुन थालेका छन्।

गाउँपालिका–३ खनदहमा कृषकहरूले बिक्रीका लागि उत्पादन गरेका खसीबोका संकलन गरी तौल गर्ने र सामूहिक रूपमा बजारीकरण गर्ने अभ्यास अघि बढाएका छन्। यसले कृषकलाई आफ्नो उत्पादन बिक्री गर्न सहज बनाउनुका साथै व्यवस्थित बजारसँग जोडिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

मालारानी गाउँपालिकाले खसीबोकाको उत्पादन तथा बजारीकरणलाई प्रोत्साहन गर्न जिउँदो खसीबोकाको तौलका आधारमा प्रतिकेजी ३० रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको छ।

स्थानीयस्तरमै खसीबोका संकलन, तौल र बिक्रीको व्यवस्था हुँदा कृषकलाई बजारसम्म पहुँच बढाउन तथा उत्पादनको उचित मूल्य प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। पशुपालनलाई आम्दानीको स्रोत बनाएका कृषकका लागि यस्तो अभ्यासले व्यावसायिक बाख्रापालन विस्तार गर्नसमेत टेवा पुग्न सक्छ।मालारानी गाउँपालिकाले हेफर इन्टरनेशनल नेपालको साझेदारीमा पालिकामा मालारानी कृषि तथा पशु उद्यमशीलता परियोजना सञ्चालन गरेको छ । जसले अहिले समूह र सहकारी मार्फत बजारीकरणको काम गरिरहेको छ ।