बुढीगण्डकीमा भीषण बाढी, सल्लेरी बजार बगायो, जगत बजारमा पनि ठूलो क्षति
गोरखा । बुढीगण्डकी नदीमा आएको ठूलो बाढीले गोरखाको सल्लेरी बजार बगाएको छ भने जगत बजारमा समेत ठूलो क्षति पुर्याएको छ।
चुमनुब्री गाउँपालिकास्थित छेकम्पार क्षेत्रमा सुक्खा पहिरो खसेर बुढीगण्डकी नदी थुनिएपछि एक्कासि बाढी आएको हुन सक्ने आशंका गरिएको छ। नदी थुनिएर जम्मा भएको पानी पहिरोले बनाएको अवरोध फुटेपछि बाढीका रूपमा तल झरेको हुन सक्ने अनुमान गरिएको छ।
बाढीका कारण नदी आसपासका बस्ती तथा भौतिक संरचनामा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण छ। घटनाबाट भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ।
सम्भावित थप जोखिमलाई मध्यनजर गर्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन तथा नदी किनारबाट सुरक्षित स्थानमा जान आग्रह गरिन्छ। घटनाबारे सम्बन्धित निकायबाट थप विवरण आउन बाँकी छ।