बीरेन्द्र माध्यमिक विद्यालयको खुला भलिबल प्रतियोगिताका सम्पूर्ण तयारी पूरा
श्री बीरेन्द्र माध्यमिक विद्यालयले आयोजना गर्न लागेको खुला भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। आगामी २०८३ असोज ३१ गतेदेखि कार्तिक २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजेता टोलीले आकर्षक नगद पुरस्कारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
प्रतियोगितामा प्रथम हुने टोलीले ५० हजार रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै, द्वितीय हुने टोलीले ४० हजार, तृतीय हुने टोलीले ३० हजार रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र पाउनेछ। सान्त्वना स्थान हासिल गर्ने टोलीलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने विद्यालयले जनाएको छ।
दसैँको अवसरमा आयोजना हुन लागेको प्रतियोगिताले खेलकुदको विकाससँगै पूर्वविद्यार्थी, स्थानीयवासी तथा खेलप्रेमीलाई विद्यालय प्राङ्गणमा भेला हुने अवसर प्रदान गर्ने विद्यालयका प्रधानाध्यापक कमल पछाईले बताउनुभयो।
प्रतियोगिता सञ्चालनका लागि विभिन्न व्यक्तिले आर्थिक तथा अन्य सहयोग गरेका छन्। अर्जुन कुँवर र सृजन थापाले संयुक्त रूपमा ५० हजार रुपैयाँ, रामु पछाईले २५ हजार, मिलन फुल्देलले १५ हजार, दीपक पछाईले १० हजार र रामलाल आचार्यले ५ हजार रुपैयाँ सहयोग गरेका छन्। रमेश पाण्डेले पाँच कार्टुन पानी सौजन्य गर्नुभएको छ भने उमेश पछाईले सञ्चार सेवा सहयोग गर्नुभएको छ।
प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण दातालाई प्रधानाध्यापक पछाईले धन्यवाद ज्ञापन गर्नुभएको छ।