भोटेकोशी बाढीपीडितका लागि अर्घाखाँची चेम्बर अफ कमर्सको १ लाख १ हजार सहयोग

२०८३ भदौ ११ बिहीबार १०:३९:०० मा प्रकाशित

अर्घाखाँची । रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै अर्घाखाँची चेम्बर अफ कमर्सले बाढीपीडितको राहत तथा उद्धारका लागि १ लाख १ हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।

चेम्बरले भदौ १० गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत उक्त रकम जिल्ला प्रशासन कार्यालय, अर्घाखाँचीको माध्यमबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको जनाएको छ ।

भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण टिमुरे, स्याफ्रुबेँसी लगायत नदी तटीय क्षेत्रमा ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पुगेको छ । बाढीबाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा घाइतेको प्रभावकारी उपचारका लागि सरकार, सुरक्षा निकाय तथा सम्बन्धित सबै निकायसँग चेम्बरले जोडदार माग गरेको छ ।

चेम्बरका अध्यक्ष अशोककुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा विपद्को कठिन घडीमा प्रभावित नागरिक तथा परिवारजनप्रति ऐक्यबद्धता व्यक्त गर्दै उद्धार तथा राहत कार्यमा सहयोग गर्न निजी क्षेत्र, उद्योगी व्यवसायी, सामाजिक संघ–संस्था तथा आम नागरिकलाई समेत अपिल गरिएको छ ।

चेम्बरले आफ्नो स्थापना दिवस तथा महिला चेम्बरको तीज विशेष कार्यक्रमसमेत स्थगित गरि राहत तथा उद्धारमा सहयोग गरेको जानकारी दिएको छ ।