तौलका आधारमा खसी–बोका बिक्री, मालारानीका कृषकलाई उत्पादन अनुदानको प्रत्यक्ष लाभ
अर्घाखाँची । मालारानी गाउँपालिकाले सञ्चालन गरेको उत्पादन बिक्री अनुदान कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कार्यक्रमले कृषकलाई उत्पादनको उचित मूल्य दिलाउनुका साथै खसी–बोकाको बिक्री प्रक्रियालाई पारदर्शी, व्यवस्थित र अभिलेखमुखी बनाउन महत्वपूर्ण योगदान पुर्याएको हो ।
कार्यक्रम लागू भएपछि गाउँपालिकाभित्रका कृषकहरूले जिउँदो खसी–बोकालाई तौलका आधारमा बिक्री गर्न थालेका छन् । यसले मूल्य निर्धारणमा पारदर्शिता ल्याएको मात्र होइन, कृषकलाई वास्तविक उत्पादनअनुसार प्रतिफल प्राप्त गर्ने वातावरण पनि सिर्जना गरेको छ ।
पालिकाभित्र रहेका तीनवटा साना किसान कृषि सहकारी संस्थाले कृषकका खसी–बोका बिक्रीमा सहजीकरण गर्ने, अभिलेख व्यवस्थापन गर्ने, गाउँपालिकामा आवश्यक विवरण उपलब्ध गराउने तथा अनुदान वितरण प्रक्रियालाई सहज बनाउने काम गर्दै आएका छन् ।
गाउँपालिकाको व्यवस्थाअनुसार एक आर्थिक वर्षमा न्यूनतम १०० किलोग्राम जिउँदो खसी–बोका बिक्री गर्ने कृषकलाई प्रतिकिलो रु. २० का दरले उत्पादन बिक्री अनुदान उपलब्ध गराइन्छ ।
आर्थिक वर्ष २०८२/०८३ मा वडा नं. १, २ र ३ कार्यक्षेत्र रहेको प्रगतिशील साना किसान कृषि सहकारी संस्था लिमिटेड मार्फत ५६ जना कृषकका १४२ वटा खसी–बोका बिक्री भएका छन् । कुल ५,२९१ किलोग्राम जिउँदो तौलका खसी–बोकाको बिक्रीबाट रु. २७ लाख ८९ हजार २९० बराबरको कारोबार भएको छ । सोही आधारमा सम्बन्धित कृषकहरूले गाउँपालिकाबाट रु. १ लाख ५ हजार ८२० उत्पादन बिक्री अनुदान प्राप्त गरेका छन् ।
यसैबीच, मालारानी कृषि तथा पशु उद्यम विकास परियोजनाको सहजीकरणमा कृषक, सहकारी, व्यापारी तथा गाउँपालिकाबीच संयुक्त बैठकमार्फत जिउँदो खसी–बोकाको मूल्य निर्धारण गर्ने अभ्यासलाई पनि निरन्तरता दिइएको छ । यस अभ्यासले बजार व्यवस्थापनलाई थप व्यवस्थित, पारदर्शी र कृषकमैत्री बनाएको गाउँपालिकाले जनाएको छ ।
उत्पादन वृद्धि, सहकारीमार्फत व्यवस्थित बजारीकरण तथा उत्पादन बिक्री अनुदान कार्यक्रमले कृषकको आम्दानी बढाउन सकारात्मक भूमिका खेलेको विश्वास गरिएको छ । गाउँपालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै कृषि तथा पशुपालन क्षेत्रको व्यवसायीकरणमा जोड दिने जनाएको छ ।