तौलका आधारमा खसी–बोका बिक्री, मालारानीका वडा ६–९ का ५० कृषकलाई रु. १ लाख ४१ हजार ४० उत्पादन बिक्री अनुदान
अर्घाखाँची । मालारानी गाउँपालिकाले सञ्चालन गरेको उत्पादन बिक्री अनुदान कार्यक्रमले स्थानीय कृषकलाई प्रत्यक्ष आर्थिक लाभ दिलाउन थालेको छ । जिउँदो खसी- बोकालाई तौलका आधारमा बिक्री गर्ने व्यवस्था प्रभावकारी बन्दै जाँदा कृषकले आफ्नो उत्पादनको वास्तविक मूल्य पाउन थालेका छन् भने बिक्री प्रक्रिया पनि पारदर्शी र व्यवस्थित बनेको छ ।
गाउँपालिकाको कृषि तथा पशुपालन प्रवर्द्धन नीतिअनुसार वडा नं. ६, ७, ८ र ९ का कृषकहरूले फुलबारी साना किसान कृषि सहकारी संस्था लिमिटेड मार्फत खसी–बोका बिक्री गरेका हुन् । सहकारीले बिक्री व्यवस्थापन, अभिलेख संकलन तथा अनुदानका लागि आवश्यक विवरण गाउँपालिकामा उपलब्ध गराउने काम गर्दै आएको छ ।
गाउँपालिकाको मापदण्डअनुसार एक आर्थिक वर्षमा न्यूनतम १०० किलोग्राम जिउँदो खसी–बोका बिक्री गर्ने कृषकलाई प्रतिकिलोग्राम रु. २० का दरले उत्पादन बिक्री अनुदान प्रदान गरिन्छ ।
आर्थिक वर्ष २०८२/०८३ मा वडा नं. ६, ७, ८ र ९ का ५० जना कृषकले १९२ वटा खसी–बोका बिक्री गरेका छन् । बिक्री भएका खसी–बोकाको कुल जिउँदो तौल ७ हजार १ सय ९८ किलोग्राम पुगेको थियो । सोही आधारमा गाउँपालिकाले रु. १ लाख ४१ हजार ४० रुपैयाँ उत्पादन बिक्री अनुदान कृषकहरूलाई शुक्रबार एक कार्यक्रमका बिच उपलब्ध गराएको जनाएको छ ।
मालारानी कृषि तथा पशु उद्यम विकास परियोजनाको सहजीकरणमा कृषक, सहकारी, व्यापारी तथा गाउँपालिकाबीच संयुक्त बैठकमार्फत जिउँदो खसी–बोकाको मूल्य निर्धारण गर्ने अभ्यासलाई समेत निरन्तरता दिइएको छ । यसले बजार व्यवस्थापनलाई थप व्यवस्थित र कृषकमैत्री बनाउन सहयोग पुगेको गाउँपालिकाको विश्वास छ ।
मालारानी गाउँपालिकाका अध्यक्ष दल बहादुर भट्टराईले उत्पादन बिक्री अनुदान कार्यक्रमले कृषकलाई प्रत्यक्ष लाभ पुर्याउनुका साथै पशुपालनलाई व्यावसायिक बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
उहाँले भन्नुभयो 'तौलका आधारमा बिक्री गर्ने प्रणालीले कृषकलाई उचित मूल्य सुनिश्चित गरेको छ । गाउँपालिकाले उत्पादनदेखि बजारीकरणसम्म कृषकलाई साथ दिने नीति लिएको छ । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै कृषि तथा पशुपालन क्षेत्रको व्यवसायीकरण, उत्पादन वृद्धि र कृषकको आम्दानी बढाउने कामलाई प्राथमिकताका साथ अघि बढाइनेछ ।'
यस्तै वडा नं. ९ का वडा अध्यक्ष महेन्द्रबाबू खनालले कार्यक्रमले कृषकमा उत्पादन बढाउने उत्साह थपिएको बताउनुभयो । 'तौलका आधारमा हुने बिक्री प्रणालीले कृषकलाई न्यायोचित मूल्य दिलाएको छ, यसले किसानलाई व्यवसायिक पशुपालनतर्फ आकर्षित गरेको छ,' उहाँले भन्नुभयो 'आगामी दिनमा अझ धेरै कृषकलाई यस कार्यक्रममा सहभागी गराउँदै उत्पादन र आम्दानी दुवै बढाउनेतर्फ हामी लाग्नेछौं।'
यस अवधिमा वडा नं. ६ की कृषक मीना नेपालीले सबैभन्दा बढी ६ वटा बोका, कुल २९८ किलोग्राम बिक्री गर्दै सबैभन्दा धेरै उत्पादन बिक्री गर्ने कृषकको रूपमा आफूलाई स्थापित गर्नुभएको छ । उहाँले उत्पादन बिक्री अनुदान प्राप्त गर्दा अझ हौसला बढेको बताउनुभयो । उहाँले भन्नुभयो 'पहिला अनुमानका भरमा बिक्री गर्दा कहिलेकाहीँ उचित मूल्य पाइँदैनथ्यो । अहिले तौल गरेर बिक्री गर्दा वास्तविक मूल्य पाइन्छ । गाउँपालिकाले दिएको उत्पादन बिक्री अनुदानले पनि पशुपालन व्यवसायलाई अझ विस्तार गर्ने हौसला मिलेको छ ।'
मालारानी गाउँपालिकाले आगामी वर्षहरूमा समेत उत्पादन वृद्धि, सहकारीमार्फत व्यवस्थित बजारीकरण र उत्पादन बिक्री अनुदान कार्यक्रमलाई निरन्तरता दिँदै कृषकमैत्री कार्यक्रम थप विस्तार गर्ने जनाएको छ ।
कार्यक्रममा मालारानी गाउँपालिकाका कार्यपालिका सदस्य लिला बराल, मालारानी ६ का का.बा. वडा अध्यक्ष नुम बहादुर घ.म., वडा सदस्य लालु राना, मालारानी गाउँपालिका पशु शाखा प्रमुख, मालारानी कृषि तथा पशु उद्यम विकास परियोजनाका संयोजक, मालारानी कृषि तथा पशु उद्यम विकास परियोजनाका लेखापाल अर्जुन खनाल, नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रेमनारायण आचार्य लगायतको अतिथ्यता रहेको थियो । कार्यक्रम फुलबारी साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष निर्मला मिश्रको अध्यक्षता र प्रतिभा मगरको संचालनमा सम्पन्न भएको थियो ।