मालारानी आधारभूत अस्पतालबाट आजदेखि औपचारिक सेवा शुभारम्भ
नविन वि.क, अर्घाखाँची। मालारानी गाउँपालिकामा १५ शैय्याको मालारानी आधारभूत अस्पतालले आजदेखि औपचारिक रूपमा स्वास्थ्य सेवा शुभारम्भ गरेको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ मंसिर १५ गते देशभरका ३९६ आधारभूत अस्पतालसँगै यस अस्पतालको शिलान्यास गरेका थिए । करिब दुई वर्षअघि नै भवन निर्माण सम्पन्न भए पनि आवश्यक जनशक्ति तथा व्यवस्थापन मिलाइएपछि अस्पतालबाट नियमित सेवा अजदेखि सुरु गरिएको हो ।
अस्पताल सञ्चालनका लागि मालारानी गाउँपालिकाले एक जना एमबीबीएस चिकित्सकसहित ९ जना स्वास्थ्यकर्मी तथा कर्मचारीको व्यवस्था गरेको छ । साथै, खनदह स्वास्थ्य चौकीलाई अस्पतालमा समायोजन गरी सेवा प्रवाह सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।
अस्पताल सञ्चालनसँगै अब मालारानी गाउँपालिकाका नागरिकका साथै छिमेकी स्थानीय तहका बासिन्दाले पनि आफ्नै क्षेत्रबाट सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।
स्थानीय स्तरमै अस्पताल सञ्चालनमा आएपछि उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम हुने विश्वास गरिएको छ । गाउँपालिकाले यस उपलब्धिले "स्वस्थ नागरिक, समृद्ध गाउँपालिका" भन्ने लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुग्ने जनाएको छ ।