सिद्धार्थ मा.वि. रतनमारेमा पूर्वविद्यार्थी पुनर्मिलन तथा चियापान कार्यक्रम आयोजना हुँदै
नविन विक, अर्घाखाँची । मालारानी गाउँपालिका–६ स्थित श्री सिद्धार्थ माध्यमिक विद्यालयले पूर्वविद्यार्थी पुनर्मिलन तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । विद्यालयले पूर्वविद्यार्थी सँग भेटघाट तथा विद्यालयको शैक्षिक विकासका विषयमा छलफल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको हो ।
विद्यालय परिसरमा २०८३ कात्तिक ६ गते शुक्रबार बिहान ११ बजे कार्यक्रम आयोजना हुने विद्यालयले जनाएको छ ।
कार्यक्रमबारे विद्यालयका प्रधानाध्यापक रामबहादुर खड्काले पूर्वविद्यार्थी र विद्यालयबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै विद्यालयको विकासमा सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो । “पूर्वविद्यार्थी भनेका विद्यालयका महत्वपूर्ण सम्पत्ति हुन् । उहाँहरूसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउने र विद्यालयको शैक्षिक तथा भौतिक विकासमा उहाँहरूको अनुभव, सुझाव र सहयोगलाई जोड्ने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागेका हौँ' उहाँले बताउनुभयो 'कार्यक्रममा सम्पूर्ण पूर्वविद्यार्थीहरुलाई गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ ।
विद्यालयले कार्यक्रमलाई व्यवस्थित बनाउन विभिन्न क्षेत्रका पूर्वविद्यार्थी तथा शिक्षकहरूलाई सम्पर्क व्यक्तिको जिम्मेवारीसमेत तोकेको छ । कार्यक्रममार्फत विद्यालयको विगत, वर्तमान र आगामी शैक्षिक यात्राबीचको सम्बन्धलाई जोड्ने अपेक्षा गरिएको छ ।