दाङको तुल्सीपुरमा नेकपा एमालेको झण्डा जलाइएको विरोधमा अर्घाखाँचीमा प्रदर्शन

२०८२ फाल्गुण ८ शुक्रबार १९:५९:०० मा प्रकाशित

अर्घाखाँची ।  तुल्सीपुरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाइएको घटनाको विरोधमा राष्ट्रिय युवा संघ नेपालले देशभर प्रदर्शन सुरु गरेको छ। सोही क्रममा अर्घाखाँचीमा पनि विरोध जुलुससहित कोणसभा सम्पन्न भएको छ ।

विरोध सभामा वक्ताहरूले ‘सूर्य’ कागजमा छापिएको चिन्ह मात्र नभई जनताको विश्वास, भरोसा र आस्थाको प्रतीक भएको उल्लेख गर्दै सार्वजनिक रूपमा पार्टीको झण्डा जलाउने कार्य लोकतान्त्रिक संस्कारविपरीत भएको बताए । बहस र प्रतिस्पर्धाबाट जनमत जित्न नसक्नेहरूले प्रतीक जलाएर राजनीतिक लाभ लिन खोजेको नेकपा एमाले अर्घाखाँचीका सचिव तोज बहादुर रायमाझी विधानले बताए ।  

कार्यक्रममा वक्ताहरूले आफूलाई नयाँ राजनीतिक शक्ति बताउने राष्ट्रिय स्वतन्त्र पार्टीलाई लोकतान्त्रिक अभ्यास र सहिष्णुताको मूल्य आत्मसात गर्न आग्रह गरे । साथै, पार्टीमाथि गिद्धे दृष्टि राख्ने प्रयास भए त्यसको सशक्त प्रतिवाद गरिने चेतावनी पनि युवा संघ अर्घाखाँचीले दिएको छ ।

यसैबीच, केही दिनअघि सन्धिखर्कमा एमालेका उम्मेदवार पिताम्बर भुसालको घरदैलो कार्यक्रमको भिडियो अतिरञ्जित रूपमा सामाजिक सञ्जालमा सार्वजनिक गरिएकोप्रति असन्तुष्टि व्यक्त गर्दै सामाजिक द्वेष फैलाउने गतिविधिको युवा संघ अर्घाखाँचीले भर्त्सना गरेको छ । वक्ताहरूले सांस्कृतिक तथा राजनीतिक अराजकता अन्त्य गर्न आह्वान गर्दै लोकतान्त्रिक मूल्य–मान्यता जोगाउन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा सहभागी युवाहरूले पार्टीको झण्डा र चुनाव चिन्हमाथि भएको आक्रमणको विरोध गर्दै संगठनलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।