सातौं अर्घाखाँची महोत्सव पुस २७ देखि

२०८२ पौष १८ शुक्रबार १९:४५:०० मा प्रकाशित

नविन विक अर्घाखाँची । अर्घाखाँचीमा पुस २७ गतेदेखि माघ ११ गतेसम्म सातौं अर्घाखाँची महोत्सव आयोजना हुने भएको छ। अर्घाखाँची चेम्बर अफ कमर्सको आयोजनामा हुन लागेको महोत्सवमा कृषि, पर्यटन र संस्कृतिलाई मुख्य प्राथमिकता दिइएको आयोजकले जनाएको छ ।

महोत्सवको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अर्घाखाँची चेम्बर अफ कमर्सका अध्यक्ष अशोककुमार श्रेष्ठले यसपटकको महोत्सवमा स्थानीय कृषि उत्पादनलाई विशेष प्राथमिकता दिइएको बताउनुभयो । उहाँले महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धनसँगै जिल्लाको आर्थिक गतिविधि बढाउने विश्वास व्यक्त गर्नुभयो ।

चेम्बरका सचिव प्रेम थापाले महोत्सवमा करिब ३५० वटा स्टल रहने जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय कृषि उत्पादनका लागि निःशुल्क स्टल रहने छ । महोत्सवमा स्थानीय कृषि उत्पादन, हस्तकला, पर्यटन प्रवर्द्धनका सामग्री र सांस्कृतिक कार्यक्रमहरू समावेश गरिने बताइएको छ ।

महोत्सव सन्धिखर्क नगरपालिका १ कुँडुले फाँटमा लाग्नेछ । पत्रकार सम्मेलन अर्घाखाँची चेम्बरका अध्यक्ष अशोककुमार श्रेष्ठको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष लिलाधर बस्यालको स्वागत मन्तव्य र प्रवक्ता हरिप्रसाद भुसालको संचालनमा सम्पन्न भएको हो । 
 
आयोजकका अनुसार महोत्सवले अर्घाखाँची जिल्लाको पहिचान स्थापित गर्न र स्थानीय व्यवसायी तथा किसानलाई बजारको पहुँच बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।