अर्घाखाँची अस्पतालको आ.व. २०८१/८२ को सामाजिक परीक्षण सम्पन्न
नविन विक अर्घाखाँची । अर्घाखाँची अस्पतालको आर्थिक वर्ष २०८१/८२ को सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ। पर्यावरण सचेतन समूहको आयोजनामा सन्धिखर्कमा सम्पन्न कार्यक्रममा अस्पतालको सेवा प्रवाह, बजेट खर्च, उपलब्धि र चुनौतीबारे सार्वजनिक रूपमा समीक्षा गरिएको छ ।
सामाजिक परीक्षण कार्यक्रममा अस्पतालले आ.व. २०८१/८२ मा सञ्चालन गरेका स्वास्थ्य सेवा, बजेट खर्चको अवस्था, कार्यक्रमको कार्यान्वयन तथा सेवा प्रवाहमा देखिएका समस्या र सुधारका प्रयासबारे विवरण प्रस्तुत गरिएको थियो । प्रस्तुत विवरणमाथि सहभागी सरोकारवालाहरूले अस्पतालको सेवा गुणस्तर, स्रोतसाधनको प्रभावकारी उपयोग तथा व्यवस्थापनमा प्रश्न उठाउँदै जवाफदेहिताको माग गरेका थिए ।
कार्यक्रमका अध्यक्ष तथा सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले सार्वजनिक संस्थाले आफ्ना गतिविधि नागरिकमाझ पारदर्शी ढंगले प्रस्तुत गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सामाजिक परीक्षणले कमजोरी पहिचान गर्छ, अब ती कमजोरी सुधारतर्फ प्रशासन गम्भीर हुनुपर्छ।”
त्यसैगरी प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले स्वास्थ्य सेवा जनताको आधारभूत अधिकार भएको उल्लेख गर्दै “सेवामा ढिलासुस्ती, अव्यवस्था र लापरवाही स्वीकार्य हुँदैन” भन्ने धारणा राख्नुभयो ।
सामाजिक परीक्षण कार्यक्रममा सहभागीहरूले उठाएका सुझाव र गुनासोलाई सुधार गर्ने मेसु तिवारीले बताउनुभयो ।
कार्यक्रम सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, अर्घाखाँची अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जगन्नाथ तिवारी, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनालले जिज्ञासा सँगै आफ्ना धारणा राख्नुभएको थियो ।
कार्यक्रमको प्रिजेन्टेसन प्राध्यापक सुरज सारुले गर्नुभएको थियो । प्रस्तुतिकरणमा अस्पतालको सेवा विस्तारका प्रयाससँगै जनशक्ति, पूर्वाधार र उपकरणको अभाव प्रमुख चुनौतीका रूपमा औँल्याइएको थियो ।