अर्घाखाँचीमा विद्यार्थी बोकेको गाडी दुर्घटना, चालकको मृत्यु, १५ जना घाइते
नविन विक अर्घाखाँची, ११ पुस । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका–७ छिन्दीखोला स्थित धनचौर–नुवाकोट भित्री सडकखण्डमा विद्यार्थी बोकेको डबल क्याप गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने १५ जना विद्यार्थी घाइते भएका छन्।
जनजागृती माध्यमिक विद्यालय, धनचौरबाट राष्ट्रपति रनिङ शिल्ड कार्यक्रममा सहभागी हुन नुवाकोटतर्फ जाँदै गरेको लु २ च ५१७९ नम्बरको डबल क्याप गाडी घुम्तीमा ब्याक हुन गई सडकबाट करिब ५०–६० मिटर तल खसेको थियो। दुर्घटना आज बिहान करिब ११:३० बजे भएको हो।
दुर्घटनामा सवार १८ जनामध्ये १५ जना घाइते भएका थिए । घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क पठाइएको थियो। उपचारकै क्रममा चालक भुमिकास्थान नगरपालिका–१० पाकु निवासी ४५ वर्षीय रुद्र बहादुर पुन मगरलाई गम्भीर टाउकोमा चोट लागेकाले चिकित्सकले दिउँसो १२:२० बजे मृत घोषणा गरेका छन्।
घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। घाइतेमध्ये ३ जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ।
दुर्घटनापछि अस्थायी प्रहरी पोस्ट धनचौरबाट प्रहरी बरिष्ठ हवल्दार स्वस्तिक गौडेलको कमाण्डमा ४ जनाको टोली र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट प्रहरी निरीक्षक फल बहादुर तामाङको कमाण्डमा ९ जनाको टोली घटनास्थलमा खटिएको थियो। घटनास्थल अस्थायी प्रहरी पोस्ट धनचौरबाट करिब ७–८ किलोमिटर पश्चिममा पर्दछ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।