भूमिकास्थानको बजेट ८६ करोड ८८ लाख ४७ हजार
नविन वि.क. अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकासथन नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि ८६ करोड ८८ लाख ४७ हजार बराबरको बजेट ल्याएको छ । नगरपालिकाले आ.व. ०८१/८२ को बजेटको बुधबार सावजनिकीकरण गर्दै नगर सभाबाट ८६ करोड ८८ लाख ४७ हजार बराबरको बजेट पारित भएको नगरपालिकाले जानकारी गराएको हो ।
स्थानीय सरकार संचालन ऐन २०७४ को धारा ७१ बमोजिम असार १० गतेभित्र आगामी आ.व.को राजश्व र व्यय (बजेट) सभामा पेश गरी १५ दिनभित्र छलफलको कार्यक्रम समेत सम्पन्न गरि पारित गर्नुपर्ने व्यवस्था बमोजिम नगरपालिकाले बजेट ल्याएको हो । भूमिकास्थान नगरपालिकाबाट पारित कुल बजेट मध्ये चालु तर्फ रु. ५७ करोड १० लाख ६२ हजार अर्थात ६५.७३ प्रतिशत र पूँजीगत तर्फ रु. २९ करोड ७७ लाख ८५ अर्थात ३४.२७ प्रतिशत बजेट बिनीयोजन गरिएको छ ।
आगामी आ.व. ०८१/८२ को खर्च व्यहोर्ने स्रोत मध्ये संघीय सरकार सशर्त अनुदान तर्फ रु. ३५ करोड ५२ लाख ५६ हजार, संघीय सरकार वित्तिय समानिकरण अनुदान तर्फ रु ११ करोड १६ लाख, संघीय सरकार राजश्व बाँडफाँड तर्फ रु. १० करोड २ लाख, संघीय विषेश अनुदान तर्फ रु. ५५ लाख, संघीय सरकार समपुरक अनुदान तर्फ रु १ करोड, प्रदेश सरकार सशर्त अनुदान तर्फ रु १ करोड १० लाख, प्रदेश सरकार वित्तिय समानिकरण अनुदान तर्फ रु.७४ लाख ८२ हजार, प्रदेश सरकार राजश्व बाँडफाँड तर्फ रु.१ करोड ६० लाख, प्रदेश सरकार समपुरक अनुदान तर्फ रु.१ करोड ५ लाख, प्रदेश सरकार नवप्रबद्र्धन म्याचिंग रू. १ करोड, आन्तरिक स्रोत तर्फ ७० लाख, वन रोयल्टीबाट रु १२ लाख ६६ हजार २०९, विद्युत रोयल्टीबाट रु. १५ लाख २२ हजार २६३, पानी तथा अन्य रोयल्टी रु. १ लाख, जेष्ठ नागरिक दिर्घ सेवा सम्मान तथा सामाजिक सुरक्षा कार्यक्रम रु १८ करोड ५० लाख, सडक बोर्ड तर्फको ५५ लाख र कर्मशिल जनशक्तिबाट उत्पादित वस्तु विक्रिबाट प्राप्त हुने आम्दानी रु १२ लाख गरि जम्मा रु. ८६ करोड, ८८ लाख, ४७ हजार बराबरको बजेट ल्याइएको नगरप्रमुख झबिलाल थापाले जानकारी दिए । उनले नगरपालिकाको हालको अवस्था हेर्दा नगरको आफ्नै आम्दानी निकै कम भएको कारण विभिन्न विकासका लागि संघ र प्रदेश कै बजेटमा भर पर्नुपर्ने बाध्यता रहेको बताए । यस्तो समस्यालाई न्यूनिकरण गर्न आगामी आ.व.को लागि करको दायरा बढाउने कार्यलाई प्राथमिकता दिइने प्रेस नोटमा उल्लेख छ ।
भूमिकास्थान नगरपालिकाले आ.व. २०८०/८१ देखि कर्मशिल जनशक्ति परिचालन कार्यक्रम संचालन गर्दै आएको छ । यस वर्ष पनि यस कार्यक्रमलाई निरन्तरता दिइएको बजेटमा देखिएको छ । यस कार्यक्रमले नगरपालिकाको आम्दानीमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने पाइएको छ ।
नीति तथा कार्यक्रमका मुख्य बुँदाहरु
महिलाहरुलाई स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणका लागि निःशुल्क परिक्षणको व्यवस्था ।
समुदाय स्तरमा जेष्ठ नागरिक घरदैलो स्वास्थ्य सेवा कार्यक्रम र उत्तर प्रसुति घरभेट सेवा कार्यक्रमलाई थप प्रभावकारि रुपमा संचालन ।
पालिकामा निमार्ण सम्पन्न १५ शैयाको आधारभुत अस्पतालको सेवा संचालनको लागि बैकल्पिक व्यवस्थापन गर्न आवश्यक प्रक्रिया अगाडी बढाइने निति अबलम्बन गरिएको ।
विद्यालयहरुमा अभिभावक भेलालाई कडाईका साथ लागु गर्ने व्यवस्था ।
कर्मशिल जनशक्ति परिचालन कार्यक्रमलाई नवप्रबद्र्धन कार्यक्रम सँग जोड्दै थप व्यवस्थीत, व्यापक र प्रभावकारी बनाउने ।
स्थानीय बालीको उपयोग र बजारिकरणलाई प्राथमिकता ।
बिपत जोखिम घटाऔं, कृषी उत्पादन बढाऔं भन्ने नाराका साथ आगलागीबाट हुने विपत न्यूनीकरणका लागि फागुन देखि जेठ महिना सम्म मानव बस्ति नजिक रहेका डढेलोको जोखिमयुक्त पातपतिंगरहरुलाई एकैठाउँमा संकलन गरी कम्पोष्ट मल बनाउने कार्यलाई अगाडी बढाउने ।
वडा स्तरीय १० वटा सडकहरुको कालोपत्रेको कार्य प्रारम्भ गर्ने ।
ढुंगागिट्टी बालुवाबाट पाप्त हुने रोयल्टी संकलनलाई प्रभावकारी बनाउने ।